‘जनतालाई आपत विपद् पर्दा सरकार तत्काल उपस्थित हुनुपर्छ’
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले आम जनताले सरकार छ भन्ने अनुभुति गर्नकालागि आपत विपद् पर्दा सरकार उपस्थित हुनु आवश्यक भएको औंल्याए।
काठमडौं, जेठ १४ : उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेले सरकार छ भन्ने अनुभूति जनताले गर्न पाउनेगरी काम गर्नुपर्ने बताएका छन्। आपत विपद् पर्दा सरकार उपस्थित हुन आवश्यक रहेको उनको भनाइ थियो।
सोमबार गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले आम जनताले सरकार छ भन्ने अनुभुति गर्नकालागि आपत विपद् पर्दा सरकार उपस्थित हुनु आवश्यक भएको औंल्याए।
उनले परेको बेला जनधन जोगाउन सकिएन भने अन्य बेलामा सरकारको उपस्थितिका अर्थ नहुने बताए।
‘आम जनताले सरकार छ भन्ने अनुभुति गर्ने भनेको नै विषेशगरी आपत विपद् पर्दा हो। तर आपत विपद् पर्दा नै सरकार उपस्थित हुन सकेन भने र जनधन जोगाउन सकेन भने सरकारले आफ्नो उपस्थिति यहाँ छु भनेर मात्र हुँदैन,’ उनले भने, ‘त्यसैले आम जनतालाई आपत विपद् पर्दा नै सरकार उपस्थित हुने कुरा महत्वपूर्ण हुन्छ। यसमा तयारी गर्नुहोस्।’
मन्त्री लामिछानेले कार्ययोजना बनाउँदा कार्यविधि बनाएर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए। प्रत्येक वर्ष एक वर्षका लागि विशेषगरी मनशुनको लागि एउटा कार्यविधि बनाउनुपर्ने र कार्यविधि बनाएर अधिकार दिनुपर्ने बताए।












