२६ सार्वजनिक संस्थान नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ।काठमाडौं, जेठ १३ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा रहेको सरकारले जनाएको छ।
यस्तै, १५ घाटामा र तीन वटाको कारोबार शून्य देखिएको सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’मा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ।
‘अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा तीन हजार ४६ दशमलव २० प्रतिशतले वृद्धि भई गत आर्थिक २०७९/८० मा रु ४८ अर्ब ५१ करोड ७५ लाख कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आव २०७८र७९ मा रु ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेकोमा आव २०७९/८० मा रु ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहनु मुख्य कारण हो।’
आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा नौ सय ८१ दशमलव ४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी दुई दशमलव ८१ प्रतिशतले बढेको देखिन्छ। सार्वजनिक संस्थानको प्रशासनीक खर्च २३ दशमलव ७९ प्रतिशतले बढेको छ।
संस्थानको शेयरधनी कोष अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई नौ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ। समीक्षा अवधिमा ३२ वटा संस्थानको शेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक रहेको छ।
संस्थानका नेपाल सरकारको कूल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ६२ प्रतिशतले वृद्धि भई छ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ। गत आर्थिक वर्षको तुलनामा शेयर लगानी नौ दशमलव १९ प्रतिशतले वृद्धि भई तीन खर्ब ७९ अर्ब ७२ करोड १६ लाख पुगेको छ भने ऋण लगानी सात दशमलव ८६ प्रतिशतले कमी आई दुई खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख पुगेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा कोषमा व्यवस्था नभएको दायित्व ११ दशमलव ६३ प्रतिशतले वृद्धि भई रु ५२ अर्ब ८७ करोड दुई लाख पुगेको छ भने सम्भावित दायित्व ४४ दशमलव ८३ प्रतिशतले बढेको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९र८० मा संस्थानको सञ्चित नाफामा १६ दशमलव ६८ प्रतिशतले वृद्धि भई ६१ अर्ब १४ करोड ९६ लाख पुगेको छ। सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा संस्थान नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत छन्। कुल बजार पुँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा विसं २०८० असार मसान्तमा १८ दशमलव ३२ प्रतिशत रहेको छ।
निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा छन्। निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनीरूपमा अस्तित्व समाप्त भएको छ।
कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा मन्त्रिपरिषद्को विसं २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन।