पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा
काठमाडौं, चैत १७ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनको समयमा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह....

काठमाडौं, चैत १७ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनको समयमा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ।
पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क शवदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए। विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले चार हजार रुपैयाँ शुल्क लिने गरेको छ।
भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको एक हजार ५०० रुपैयाँ शुल्क लाग्छ। यसैगरी आर्यघाटमा एक हजार ९०० रुपैयाँ शुल्क लाग्छ। दाउरा भने आवश्यकतानुसार लाग्ने गर्छ। दाउरा किलोको नौ रुपैयाँमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए।
पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ। धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको २० रुपैयाँ लाग्छ। यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौले व्यहोर्दै आएको छ। दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले बताए।
यसअघि बेखर्ची भनी वडा कार्यालयको सिफारिस लिई आउनेलाई विभिन्न सामाजिक संस्थाले खर्च दिएर विद्युतीय शवदाह गृहमा निःशुल्क शवदाह गर्ने व्यवस्था गरिएको थियो। लकडाउनका समयमा ती संस्थासँग बेखर्चीको सम्पर्क हुन नसक्ने भएकाले कोषले नै निःशुल्क गर्ने व्यवस्था गरेको हो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

