भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भारतसँग विद्युत व्यापारका लागि भएको ऐतिहासिक सम्झौता नेपालको जलविद्युत क्षेत्रको समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत महत्वपूर्ण सफलता भएको बताए।काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी भारतसँग सम्झौता गरिसकिएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न सल्लाह दिएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निजी क्षेत्रलाई ढुक्क भएर उर्जा उत्पादनमा लाग्न सुझाएका हुन्।
भारतसँगको विद्युत निर्यात गर्ने सम्झौता समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास उनले व्यक्त गरे। ‘भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौं। भारतको प्रशारण लाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गरिनेछ,’ प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भारतसँग विद्युत व्यापारका लागि भएको ऐतिहासिक सम्झौता नेपालको जलविद्युत क्षेत्रको समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत महत्वपूर्ण सफलता भएको बताए।
बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुङ्गा सावित हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रधानमन्त्रीले अर्को छिमेकी बङ्गलादेशले समेत नेपालको बिजुली खरिद गर्नेगरी छिट्टै सम्झौता गर्ने बताए। उनले विद्युत् निर्यात सँगै स्वदेशभित्रै उत्पादित विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको दाहालले बताए।
‘देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत नै हो भन्ने स्पष्टताका साथ सरकारले काम गरिरहेको छ,’ उनले भने। विद्युत निर्यात गर्ने अवस्थामा नेपाललाई पुर्याउन निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको उनले बताए।
उनले निजी क्षेत्रले उठाउँदै आएका कतिपय मागहरू सम्बोधन भएको र बाँकी मागहरूलाई समेत क्रमशः सम्बोधन गरिँदै जाने आस्वासन दिए।