भारतमा कोरोनाका एक हजार बिरामी, एकै दिन १३० संक्रमित
काठमाडौं, चैत १७ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। सोमबार बिहानसम्म एक हजार २४ जना बिरामी भएका छन भने एकै दिन १३० जनामा संक्रमण देखिएक....

काठमाडौं, चैत १७ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। सोमबार बिहानसम्म एक हजार २४ जना बिरामी भएका छन भने एकै दिन १३० जनामा संक्रमण देखिएको छ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या गत २४ घन्टामा सबैभन्दा बढी देखिएको हो। जसमा २३ जना दिल्लीका रहेका छन्। लकडाउन भएपछि दिल्लीबाट हजारौं मजदूर हिडेरै गाउँतिर लागिरहेका छन्।
उनीहरुमा पनि संक्रमण फैलिन सक्ने चिन्ता गरिएको छ। दिल्ली छोड्नेमा नेपाली मजदूर पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको संक्रमणबाट २७ जनाले ज्यान गुमाइसकेका छन्। अझै कयौं गम्भीर रहेको जनाएको छ।
अहिलेसम्म भारतका १९ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र सिक्कीममा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोरोना भाइरसको संक्रमणबाट बच्न भारतमा २१ दिने लकडाउन गरिएको छ। तर, दिल्लीलगायतका मुख्य शहरमा काम गर्ने मजदूर भने हिडेर घर फर्किरहेका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसके कोरोना भाइरसको संक्रमण फैलिनसक्ने चेतावनी स्वास्थ्यकर्मीले दिएका छन्।











