Kathmandu Press

आँबुखैरेनीमा ‘नमुना युवा संसद’ अभ्यास सुरु

‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र संवर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो। 
आँबुखैरेनीमा ‘नमुना युवा संसद’ अभ्यास सुरु

तनहुँ, वैशाख २२ : तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमुना गाउँसभा प्रशिक्षण सुरु भएको छ।

‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र संवर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो। 

शुक्रबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले आँबुखैरेनीको विकासका लागि युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए। 

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को सशर्ततर्फको कार्यक्रमअन्तर्गत गाउँपालिकामा नमुना अभ्यास गराइएको बताए। युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ। 

प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्वप्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्मा र अनुप घिमिरेले सहजीकरण गर्नेछन्।

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्