Kathmandu Press

‘कलात्मकभन्दा मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण’

हल्कारा’, ‘डाकिनी’, ‘जुलेबी’लगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो। चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले पनि व्यावसायिक रूपमा निकै कमजोर व्यापार गर्‍यो।
‘कलात्मकभन्दा मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण’
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २ : गत वर्ष कलात्मक वा बजारलाई ध्यान राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भएका छन्। ‘हल्कारा’, ‘डाकिनी’, ‘जुलेबी’लगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो। चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले पनि व्यावसायिक रूपमा निकै कमजोर व्यापार गर्‍यो।

गत वर्षको चैत ३० देखि प्रदर्शनरत चलचित्र ‘द रेड सुटकेस’ले कस्तो व्यापार गर्छ यो भने हेर्न बाँकी छ। सुरुआती व्यापार भने यसको पनि कमजोर देखिएको छ। वर्षभर सफल भएका चलचित्रको सूचीमा हाँस्य विधा ९कमेडी जनरा०मा निर्मितकै सङ्ख्या बढी छ। ‘जारी’ले कलात्मक र व्यावसायिक दुवै पाटोमा सफलता पाएको थियो। त्यसपछि प्रदर्शन गरिएका ‘पशुपति प्रसाद २ः भष्मे डन’, ‘दिमाग खराब’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘महाजात्रा’ व्यावसायिक रूपमा सफल भएका थिए।

उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। कोरोना महामारीपश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो। विश्वभरका चलचित्र हेरेर भिन्न–भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएका चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ। कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उनले बताए।

'विश्वका चलचित्र महोत्सवमा पुगेका चलचित्रमा दर्शकको आकर्षण नदेखिनुले उहाँहरू चलचित्र भवनमा विसुद्ध मनोरञ्जन लिन पुग्नुहुन्छ भन्ने स्पष्ट सङ्केत गरेको छ। शृङ्खलाबद्ध र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो', लेखक तिमल्सेनाले भन्नुभयो, 'निर्माता र निर्देशकले एकै किसिमका चलचित्र भने दिनु हुँदैन। केही फरक गरिरहनु पर्छ। नत्र विस्तारै चलचित्रप्रति आकर्षण घट्न सक्छ।'

निर्देशक रामबाबु गुरुङले दर्शकले रुचाउनुभएसम्म शृङ्खला बनिरहने जानकारी दिए। ‘कबड्डी’ शृङ्खलालाई अगाडि बढाउने तयारीमा रहेका निर्देशक गुरुङले कलात्मक वा फरक किसिमका चलचित्रमा अहिले निर्माताको रूपमा सहभागी रहेको बताए।

'म अहिले व्यावसायिक चलचित्रमा निर्देशक र कलात्मक चलचित्रमा निर्माताको रूपमा सहभागिता जनाइरहेको छु। एकैपटक दुवै विधालाई म अगाडि लाने सोचाइमा छैन। र दर्शकले रुचाएसम्म म मेरा चलचित्रलाई निरन्तरता दिन्छु', उनले भने।

कलात्मक भनिने चलचित्रमा परिचित अनुहार रहे पनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको ‘प्रसाद’ शृङ्खलाका लेखक सुशील पौडेलले बताए। 'कलात्मक भनेर निर्माण हुने चलचित्रले दर्शकलाई बाध्न सक्नुपर्छ। दर्शकलाई एउटा चलचित्र मन परेन भने पुनः फर्काउन गाह्रो हुन्छ। मनोरञ्जनात्मक चलचित्रको तुलनामा कलात्मक भनिने ‘आर्ट’ चलचित्रले बढी मेहनत गरेर दर्शकमैत्री हुनु आवश्यक छ', उनले भने।

यो वर्ष ‘मनसरा’, ‘गाउँ आएको बाटो’, ‘राजागञ्ज’, ‘शाम्बाला’ जस्ता चलचित्र प्रदर्शन हुँदैछन्। यी चलचित्रको व्यावसायिक नतिजाले पनि अन्य चलचित्रकर्मीलाई बाटो देखाउने चलचित्रकर्मीको भनाइ छ।

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्