रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कोही असुरक्षित हुँदैनन् : गृहमन्त्री
उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नलाई नियम र कानून कडाइका साथ पालना गरिने र नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गरेकाले नागरिकलाई असुरक्षा नहुने दाबी गरे।-1712985465.jpg)
काठमाडौं, वैशाख १ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदो र क्रियासील छ भन्ने सन्देशसहित अर्थतन्त्रलाई चलायमान गराउन आज(शनिबार)देखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी खुला गरेको स्पष्ट पारेका छन्।
नियम र कानुनको पूरा पालना गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएको उल्लेख गरेका उनले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने दाबी गरे।
शनिबार नयाँ वर्ष २०८१ को अवसर पारेर काठमाडौंको थापाथलिमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत जनतासँग प्रत्यक्ष भेटेर करिब आधा घण्टासम्म विभिन्न व्यक्तिहरुलाई शुभकामना र हौसला प्रदान गरेका गृहमन्त्री लामिछानेले अर्थतन्त्रलाई चलायमान गर्न ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बताएका हुन्।
‘यो सहर जिउँदो जाग्दो र क्रियाशील सहर हो भन्ने कुरा हमीले जनतालाई महशुस गराउनुपर्ने हुन्छ । त्यसको यो सुरुआत मात्र भएको हो,’ उनले भने।
उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नलाई नियम र कानून कडाइका साथ पालना गरिने र नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गरेकाले नागरिकलाई असुरक्षा नहुने दाबी गरे।
‘नियम र कानूनहरु कडाइ साथ पालना हुन्छन् । नागरिकको सुरक्षामा कुनै पनि कम्प्रोमाइज हुँदैन । यही उद्देश्य लिएर हामी अगाडि बढेका छौं । आगामी दिनमा अरु थुप्रै त्यस्ता कार्यक्रमहरु हामी लिएर आउँछौं’, लामिछानेले भने।
थापाथलिस्थित फिल्डमा खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई मिठाई दिएर शुभकामना दिएका गहमन्त्री लामिछानेले प्रहरीले नयाँ उत्साहको साथ नयाँ वर्ष सुरुआत गरोस् भन्न हेतु आफूले फिल्डमा पुगेर उत्साह र हौसला प्रदान गरेको बताएका छन्।












