योगराज सापकोटाको ‘संस्कृत-सोपानम्’ लोकार्पण
कार्यक्रमको समापन गर्दै कार्यक्रमकी अध्यक्ष तथा अक्षरा स्कुलकी संस्थापक एवं कार्यकारी निर्देशक अन्जु भट्टराईले अभियानलाई सफल बनाउन आफू पनि पूर्ण समर्पित रहने प्रतिबद्धता जनाइन्।काठमाडाैं, चैत २३ : संस्कृत भाषा सिकाइ अभियानकर्ता तथा परिकल्पनाकार योगराज सापकोटाको ‘संस्कृत–सोपानम्’ पुस्तक लोकार्पण गरिएको छ। डा. छत्रपति दाहालद्वारा सम्पादित ‘सोपानम्’को बिहीबार काठमाडौं, काँडाघारीस्थित अक्षरा स्कुलमा भएको एक विशेष समारोहबीच सो पुस्तकको लोकार्पण गरिएको हो।
कक्षा ३ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई सिकाइका लागि उपयुक्त सोपानम् पाँच शृंखलामा प्रकाशित छ। ‘संस्कृत–सोपानम्’ काठमाडौंका करिब २५ वटा संस्थागत विद्यालयले पठनपाठन गराइहेका छन्। विगत आठ वर्षयता ‘संस्कृत भाषा सिकाइ अभियान’मा समर्पित सापकोटाले संस्कृत वाङ्मय र पूर्वीय सभ्यता तथा संकृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्। २०७२ सालको महाभूकम्पको बेला फुर्सदको समयमा संस्थागत विद्यालयमा संस्कृत भाषा पढाएर संस्कृति संरक्षण गर्नुपर्ने अवधारणा बनेको बताउने उनले अहिले भूकम्पको तरङ्गसँगै संस्कृत भाषा सिकाइमा पनि तरङ्ग ल्याएका छन्।
बिहीबार भएको लोकार्पण समारोहमा संस्कृत भाषा र ‘संस्कृत सोपानम्’ विषयमा चर्चा गर्दै विभिन्न संस्थागत विद्यालयका सञ्चालक, नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकलगायत वक्ताले खुलेरै प्रशंसा गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्कीले संस्कारयुक्त शिक्षामा अक्षरा स्कुलले खेलेको भूमिका र ‘संस्कृत–सोपानम्’ अभियानलाई संयोजन गरी नगरभित्रका सबै विद्यालयमा संस्कृत शिक्षा अनिवार्य गर्न आफूले पहलकदमी भूमिका खेल्ने बताए। सुसंस्कृत र सभ्य समाज निर्माण गर्न संस्कृत वाङ्मयको विकासका साथै नयाँ पुस्तालाई अध्यात्म चिन्तनतर्फ आकर्षित गर्न अभियान सराहनीय रहेको धारणा राखे।
कार्यक्रममा ‘सोपानम्’का प्रकाशक जरोकिलो प्रतिष्ठान नेपालका संकल्पकर्ता एवं काठमाडौं विश्वविद्यालयका भाषा तथा सञ्चार विभागप्रमुख सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले हाम्रो संस्कार, संस्कृति र समग्र पूर्वीय वाङ्मय तथा सभ्यता बुझ्न संस्कृत भाषाको ज्ञान अनिवार्य रहेको बताए। त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका प्रमुख प्राध्यापक डा. भागवत ढकालले पुस्तक लोकार्पण गर्दै संस्कृत भाषा सिकाइमा सोपानम् महत्त्वपूर्ण सामग्री रहेकाले सम्पूर्ण विद्यालयका सञ्चालकलाई पठनपाठन गराउन अनुरोध गरे।
कार्यक्रममा वाल्मीकि विद्यापीठकै प्राध्यापक डा. देवी नेपालले समयका विभिन्न उतारचढावका कारण अवरुद्ध भएको संस्कृत पठनपाठनको क्रम पुनः आरम्भ भएको भन्दै उनले भने, ‘संस्कृत–सोपानम्’ एउटा बीजारोपण मात्र हो, यसलाई फलाउने फुलाउने कार्यमा हामी सबै लाग्नुपर्छ।’ उप–प्राध्यापक उपेन्द्र दाहालले नयाँ पुस्तामा संस्कृत भाषाप्रति आकर्षण बढेको हुनाले सोपानम् सहयोगी सामग्री हुने विश्वास व्यक्त गरे।
त्यस्तै त्रिविका उप–प्राध्यापक गोविन्द घिमिरे (आकाशनीलम्) ले संस्कृत भाषामै आफ्नो मन्तव्य राख्दै अनुवादभन्दा पनि संस्कृत भाषालाई नै माध्यम बनाएर पठनपाठन गराउन सके प्रभावकारी हुने धारणा राखे। साथै उनले वर्तमानमा शिक्षण सिकाइ प्रणालीलाई आधार बनाई सोपानम् तयार भएको हुनाले बालबालिकाका लागि अत्यन्तै उपयोगी रहेको बताए। त्रिविकै उप–प्राध्यापक रोहिणीराज तिमल्सिनाले लामो समयदेखि संस्कृत भाषा सिकाइ अभियानमा आफू लागि परेको स्मरण गर्दै सोपानम्ले यसलाई अझ मलजल गर्ने बताए।
कार्यक्रममा फेका अध्यक्ष श्रीराम दाहाल, अक्षरा स्कुलका शैक्षिक निर्देशक विष्णु पनेरुलगायत प्राज्ञहरूले बधाई तथा शुभकामना दिँदै संस्कार, संस्कृति, संस्कृत भाषा, यसको सामाजिक, व्यावहारिक र वैज्ञानिक पक्षलगायत विषयमा प्रष्ट पारेका थिए।
पुस्तकका सम्पादक डा. छत्रपत्रि दाहालले पुस्तकको परिचय दिँदै यस अभियानलाई सफल र सार्थक बनाउन सबैको सहयोगको अपेक्षा रहेको बताए। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै पुस्तकका परिकल्पनाकार सापकोटाले नेपाली भाषाको उच्चारणमा निखारपन आउने, शब्दज्ञान बढ्ने, लय एवं छन्दज्ञानमा दक्ष हुनेलगायत पुस्तकका विशेषता रहेको बताए। साथै आयुर्वेद चिकित्सा र अष्टाङ्ग योगको ज्ञानले जीवनपद्धति र आचरणमा परिष्कार ल्याउनुका साथै नीतिसम्बन्धी कथा र श्लोकले नैतिक शिक्षा प्रदान गर्ने प्रष्ट पारे।
‘सोपानम्’मा संस्कृत भाषा–व्याकरणअन्तर्गत धातु तथा शब्द रूपावलीका सामान्य नियम, नीतिश्लोक, नीतिकथा, विभिन्न चाडपर्वसम्बन्धी आशीर्वचन, दियो, कलश र गणेश पूजनविधि, अष्टांग योगको परिचय, आयुर्वेद चिकित्सा पद्धतिका साथै संस्कृत वाङ्मयभित्र रहेका वैज्ञानिक तथ्यहरू र ऋषिमुनिहरूका महत्त्वपूर्ण खोजहरूलाई संक्षिप्त रूपमा संकलन गरिएको छ। कार्यक्रमको समापन गर्दै कार्यक्रमकी अध्यक्ष तथा अक्षरा स्कुलकी संस्थापक एवं कार्यकारी निर्देशक अन्जु भट्टराईले अभियानलाई सफल बनाउन आफू पनि पूर्ण समर्पित रहने प्रतिबद्धता जनाइन्।
‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ विद्यालयको लक्ष्य रहेकाले परिकल्पनाकार सापकोटासँग लामो समयदेखि संस्कृत भाषा सिकाइ र संस्कारयुक्त शिक्षाका लागि सहकार्य गर्दै आइरहेको बताइन्। बालबालिकालाई व्यावहारिक सिकाइका साथै अध्यात्मसँग जोड्न ‘संस्कृत–सोपानम्’ थप सहयोगी पाठ्यपुस्तक रहेको उनले बताइन्।