‘आवश्यकता र सम्भावनालाई सम्बाेधन गर्नेगरी बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिनेछ’
आगामी वर्षको बजेट सोह्रौं योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुने समेत उनले बताए।काठमाडाैं, चैत ७ : अर्थमन्त्री वर्षमान पुनले जनताको तीव्र विकासको चाहना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पूरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले नयाँ सत्ता समीकरणमा संलग्न राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तयार भएको भन्दै जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पुरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्ने बताए। पुँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानून र प्रक्रिया सुधार अघि बढाइने उनले बताए। मन्त्री पुनले आवश्यकता, संभावना र सोचलाई सम्वोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने जानकारीदिए।
आगामी वर्षको बजेट सोह्रौं योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुने समेत उनले बताए। मन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच सहित कार्यान्वयनमा आउने योजनाका कार्यक्रमहरुको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष संविधानमा उल्लेख भए बमोजिमको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि केहि ठोस आधार तयार हुने धारणा राखे।
त्यस्तै उनले बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दूमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नती भएपछिको संक्रमणकालीन रणनीति कार्यान्वयन गरिने बताए। सहकारी र लघु वित्तमा रहेका समस्या तथा र मिटरब्याज पिडितहरुको साथमा सरकार रहेको भन्दै उनले यसका लागि सरकारले काम अगाडि बढाइ सकिएको जानकारी दिए। उनले कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने जिकिर गरे।