नेदरल्याण्ड्सविरूद्ध नेपालको जीत, रनरेटका आधारमा फाइनल खेल्ने पक्का
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेदरल्याण्डसविरूद्धको खेलमा ६ विकेटको प्रभावशाली जीत हासिल गरेको छ । जीतसँगे नेपाल फाइनलमा पनि प्रवेश गरेको छ ।
नेपालले नेट रनरेटका आधारमा फाइनल खेल्ने पक्का गरेको हो । आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल खेल्ने अर्को टोली निर्धारण हुने छ ।
सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.२९३ छ ।
नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट -०.७०० छ ।
आइतबारको खेलमा नेदरल्यान्ड्स विजयी भएमा सोझै फाइनल प्रवेश गर्नेछ । नामिबिया भने जीतका बावजुद नेट रनरेटका आधारमा मात्र फाइनल पुग्ने नपुग्ने टुंगो लाग्नेछ । आइतबारको खेलपछि जुन टोलीको सर्वाधिक नेट रनरेट हुन्छ उसैले नेपालविरूद्ध फाइनल खेल्ने छ ।
नेपालको ०.२९३ को रनरेटलाई नेदरल्यान्ड्स र नामिबियामध्ये एक टोलीले मात्रै अब पछि पार्न सक्नेछन् । जसकारण नेपालले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तेस्रो खेलमा भने नामिबियालाई ३ रनले पराजित गरेको थियो ।
फाइनल खेल मंगलबार हुनेछ ।
शनिबार कीर्तिपुर मैदानमा नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।
नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।