हिन्दु र मुस्लिमको आस्थाको केन्द्र मदारबाबा मेला सुरु
हिन्दु र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन्। मेला आजदेखि सुरु भए पनि गत सोमबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।मध्यबिन्दु (नवलपरासी), फागुन १७ : हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ।
हिन्दु र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन्। मेला आजदेखि सुरु भए पनि गत सोमबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।
पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दुको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ता अघिदेखि ठूलो मेला लाग्ने गर्दछ। महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका गरी लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। मेला व्यवस्थित गर्न त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको अध्यक्ष गिरीले बताए।
'मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो। विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दु, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ', उनले भने, 'यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका मदारीडाँडामा रहेको छ। मदारीडाँडामा पैदलयात्रामार्फत पुग्न सकिन्छ।'
मेलामा महलबारी मस्जिदका मठाधीश अमिरुल्लाह अन्सारी नै परम्परादेखि मदारीडाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयीत्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए। 'यस वर्षको मेलामा करिब सात लाख भक्तजनले अवलोकन गर्ने अनुमान गरिएको छ', शाहले भने।
मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ। यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वाससमेत रहेको छ।