टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाबाट २०७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो।काठमाडौं, फागुन १५ : नामिबियासँग नेपाल २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाबाट २०७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए। नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए।
नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानको एलबिडब्लूबाट गोल्डेन डकआउट भए। अर्का ओपनर आसिफ शेखले ६ रनभन्दा बढी जाेड्न सकेनन्।
कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। गुल्सन झा ६ बलमा १२ रन जोडेर आउट भए। सन्दीप जोराले ५ रन मात्र लिन सके। विवेक यादव पनि ६ रनमा आउट भए।
त्यसपछि सोमपाल कामीले ११ बलमा १ चौका र ३ छक्काको मद्दतमा २६ रन जोडे। उनी आठौं विकेटको रुपमा आउट भए। १९औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी ४८ रनमा आउट भए। उनले ३२ बलमा २ चौका र २ छक्का हाने। अर्को बलमा अभिनास बोहरा बोल्ड हुँदा नेपाल पराजित भयो। अन्तिम दुवै विकेट ट्रम्पलम्यानले लिए। बलिङमा नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिए। जान फ्राइलिंक, बर्नाल्ड स्कोल्स र जान निकोलले २/२ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले जान निकोल लफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। निकोलले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गरेर कुशल मल्लको कीर्तिमान तोडे।
मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए। सिरिजमा अब नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।