जान निकोलको कीर्तिमानी शतकमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य
काठमाडौं, फागुन १५ : नामिबियाले त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। जान निकोल लेफ्टी इटनको विश्व कीर्तिमानी शतकमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको हाे।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ राेजेकाे नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। ११ ओभरमा ३ विकेट गुमाउँदा ६६ रन जोडेको नामिबियाले नेपालविरुद्ध पछिल्लो ९ ओभरमा १४० रन जोडेको थियो।
नामिबियाका लागि जान निकोलले विश्वकीर्तिमानी शतक प्रहार गरे। उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको नाममा रहेको विश्वकीर्तिमान तोड्न सफल भए। १०१ जोडेर आउट भएका उनले ३६ बल खेल्दा ११ चौका र ८ छक्का प्रहार गरे। नामिबियाका लागि ओपनिङ ब्याटर मलन क्रुगरले नटआउट ५९ रनको योगदान गरे।
ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए। छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए।