Kathmandu Press

कोरोनाले नेपाली क्रिकेट टिमको नामिबिया भ्रमण अन्योलमा

काठमाडौं, चैत ४ : आगामी अप्रिल तेस्रो साता हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको नामिबिया भ्रमण अन्योलमा परेको छ।

विश्वव्यापी महामारीका रुपमा ....

कोरोनाले नेपाली क्रिकेट टिमको नामिबिया भ्रमण अन्योलमा

काठमाडौं, चैत ४ : आगामी अप्रिल तेस्रो साता हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको नामिबिया भ्रमण अन्योलमा परेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको नामिबियामा हुने नेपालको दोस्रो त्रिकोणात्मक श्रृंखला प्रभावित हुने भएको हो। अहिले कोरोना भाइरसको त्रासले विश्व खेलकुद नै ठप्प छ।

कोरोना भाइरसकै कारण आईसिसीले टेस्ट, एकदिवसीय र टि–२० सिरिज स्थगित गरिसकेको छ। जसले विश्वकप क्रिकेट लिग–२ पनि प्रभावित बनेको हो।

लिग–२ अन्तर्गतकै १ अप्रिलदेखि हुने भनिएको अमेरिका, स्कटल्यान्ड र यूएईबीचको सिरिज स्थगित भइसकेको छ। यो सिरिज स्थगित भएसँगै नेपाल, नामिबिया र स्कटल्यान्डबीचको श्रृंखला पनि अन्योलमा परेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले पनि नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज हुने–नहुने अहिले नै भन्न सकिने जनाएको छ। क्यान महासचिव असोकनाथ प्याकुरेलले पहिले खाली रंगशालामा सिरिज खेलाउने विषयमा छलफल भएपनि कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएकाले सचेत भएको बताए। ‘नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजका विषयमा आइसिसीले कुनै निर्णय गरेको छैन, हामी आइसिसीको निर्णय कुरिरहेका छौं,’ प्याकुरेलले भने ‘अब आइसिसीले के निर्णय गर्छ, त्यहीअनुसार हामी अगाडि बढ्छौं।’

लिग–२ मा नेपालको यो दोस्रो त्रिकोणात्मक श्रृंखला हो । यसअघि नेपालले अघिल्लो महिना घरेलु मैदानमा अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो । जसमा नेपाल ४ मध्ये २ खेल जितेको थियो । नेपालले ओमानसँगका दुवै खेल गुमाउँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।

एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग–२ मा सात टिम सहभागी छन् । यीमध्ये शीर्ष तीन टिमले विश्वकप छनोट खेल्ने छन् भने पुछारका चार टिमको छनोटमा पुग्न प्लेअफ खेल्ने छन्।

लिग–२ मा नेपाल, अमेरिका, ओमान, युएई, स्कटल्यान्ड, पपुवा न्यूगिनी र नामिबिया छन्। प्रत्येक टिमले नौ वटा त्रिकोणात्मक श्रृंखला खेल्नेछन्। नेपाल तीनवटा श्रृंखला हुनेछन्।

प्रकाशित मिति: १४:५० बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्