सौगातका श्यामश्वेत सपना
काठमाडौं, फागुन १२ : ‘तिमी सपना देख्छौ ?’ साथीभाइले प्रायः सोध्ने गर्छन् । उनी कहिले चुपचाप बस्छन्, कहिले फ्याट्ट भन्छन्, “मैले किन ....
काठमाडौं, फागुन १२ : ‘तिमी सपना देख्छौ ?’ साथीभाइले प्रायः सोध्ने गर्छन् । उनी कहिले चुपचाप बस्छन्, कहिले फ्याट्ट भन्छन्, “मैले किन सपना नदेख्नु ? देख्छु नि ।”
तर, उनले देख्ने सपना भने अलि फरक छन् । ति निदाउँदा हुन कि ब्युँझदा, थोरै फरक हुन्छन्, श्यामश्वेत ।
“सपना त मैले पनि देख्छु नि । तर, मेरा सपना रंगीन हुँदैनन्,” सौगात वाग्ले भन्छन् ।
उनले किन रंगीन सपना नदेखेका होलान् ?
काठमाडौंको धुम्बाराहीमा बस्दै आएका १९ वर्षीय नवलपरासीका सौगात जन्मिंदै दृष्टिविहीन भए । आँखा नदेख्ने भएपनि उनकी आमाले संसार देखाउन खोजिन् । र, उनलाई स्कुल भर्ना गरिन् । त्यसपछि शुरु भयो उनको पढाइ सपना ।
कक्षा १ मा नवलपुरकै बिच्छु प्राविमा भर्ना भए । सबै विद्यार्थीसँगै कक्षा ३ सम्म त्यहीं पढे । तर, त्यहाँ पढ्न उनलाई त्यति सहज भएन, स्कुल जाने कि नजाने दाेधारमा थिए, परिवार।
त्यही बेला एक दिन सौगातलाई लिएर उनकी आमा आँखा जंचाउन भैरहवा अस्पताल पुगिन् । त्यहाँ स्वास्थ्यकर्मीले आँखा जाँच गरे । आँखा देख्ने त बनाएनन् तर एउटा उपाय सुनाए, ‘दृष्टिविहीनलाई पढाउने पनि पोखरामा स्कुल छ ।’
छोरोले आँखा देख्छ की भनेर विभिन्न उपाय खोज्दै हिंडेकी उनकी आमा दृष्टिविहीनले पनि अध्ययन गर्ने स्कुल छ भनेपछि फुरुङ परिन् र, सौगातलाई लिएर उनी पोखरा गइन् । पोखराकाे अमर माविमा साैगात भर्ना भए, स्कुलमा पढ्न थाले । ब्रेल लिपि (दृष्टिविहिनले अक्षर पढ्ने विधि) ले उनलाई सहज बनायो । पढाइमा त उनी अब्बल थिए नै ।
छात्रावासको बसाइ, अमर माविको पढाइ । उनी रमाउन थाले । त्यहींबाट एसईई पनि पास गरे ।
एसईई सकेर उनी काठमाडौं हुइकिए । नवलपुर र पोखरा जस्तो त भएन, काठमाडौं । तैपनि उनले पढाइ छोडेनन् । नोबेल कलेजमा भर्ना भए । कम्प्युटरबाट पढाइ गर्न थाले । कक्षा १२ उत्तीर्ण गरेको उनले पत्ताे नै पाएनन्, रमाउँदा रमाउँदै ।
बस, अहिले उनी धुम्बाराहीको नेसनल कलेजमा स्नातक अध्ययनरत छन् । पहिलो वर्षको पढाइमा उनलाई रमाइलो भैरहेकाे छ । अन्य विद्यार्थीसँगै कलेज पुग्छन, पढ्छन् र फर्किन्छन् ।
गाउँजस्तो छैन शहर
नवलपुरमा कक्षा ३ सम्म पढ्दा जस्तो सजिलो थियो, त्यस्तो सजह भने भएन सहर । पोखरा होस् की काठमाडौं, उनले यसअघि पढ्न सहयोग पाउँदै आएका थिए । यसपटक भने न छात्रवृत्ति पाए, न त सरकारी तथा गैरसरकारी संघ वा संस्थाबाट सहयोग । उनले पाउनु पर्ने छात्रवृत्ति पनि अरुलाई नै दिइयो, जसमा उनलाई सार्है दुख लागेको छ ।
“त्यो त आ–आफ्ना मान्छेलाई मात्र दिन्छन् नि,” सौगात खिन्न हुँदै भन्छन्, “छात्रवृत्ति पाउन पनि पहुँच चाहिने रहेछ । मेरा लागि कसले भन्दिन्छन र ।”
गाउँमा उनले कहिल्यै लड्नु परेन । घरपरिवारका त छँदै थिए, छरछिमेकीले पनि सँधै सहयोग गर्थे । उनी यताउता जाँदा हात थाम्न आइहाल्थे । तर, सहर त्यस्तो भएन । अझ काठमाडौंको त के कुरा ? “बाटोमा हिंड्दा पनि धकेल्छन्, घोचपेच गर्छन् । कहाँबाट को आएर ठोक्किन्छ, पत्तै हुन्न,” सौगात अनुभव सुनाउँदै भन्छन् ।
सडक काट्न खाेज्दा सास्ती त कम्ता हुन्न । मोटरसाइकल हुंइकाउनेहरु वास्तै गर्दैनन्, गाडीले ठोक्काइ हाल्छ । “हिंड्दाहिंड्दै ठोक्किएर कयौं पटक लडेको छु, सात पटक त स्टिक नै भाँच्चियो,” सौगात सुनाउँछन् ।
तर, सबै ठाउँमा नराम्रा मात्रै हुँदैनन्, राम्रा पनि हुन्छन् । सौगातले सहयोगी मान्छे पनि भेटेका छन् । ‘सबै व्यक्ति एउटै हुँदैन । राम्रा पनि भेटेको छु । देख्ने वित्तिकै सहयोग गर्ने,” उनी भन्छन्, "तर त्यस्ता मान्छे थोरै मात्र ।"
यो दिनदिनैको गाह्रो साह्रो भयो । पढाइमा पनि उनलाई थुप्रै समस्या छन् । व्यक्तिगत समस्या त उनी कमै भन्छन्, राज्यको वेवास्ताले भएका समस्याले झन पोल्छ । दृष्टिविहीनका लागि ब्रेल लिप छ । तर, ब्रेल लिपिका पुस्तक छैनन् । खोजेका पुस्तक पाईंदैनन् ।
तैपनि कम्प्युटर प्रणालीले भने पढाइ सहज भएको छ । कम्प्युटर स्क्रिनमा देखाएको लिखितलाई सफ्टवेयरले आवाजमा बदलिदिन्छ । र, उनी मज्जाले सुन्न सक्छन् । तर, त्यहाँ पनि एउटा समस्या छ, पीडीएफ फाइलमा सफ्टवयेरले काम गरि दिंदैन । त्यसलाई अर्कोमा कन्भर्ट गर्न फेरि समस्या थपिइहाल्छ ।
फेरि सपनाकै चर्चा
तीन दिदीभाइमध्ये माइला सौगातलाई आजभोली आफ्नोभन्दा भाइको चिन्ता लाग्छ । किनकी उनी पनि दृष्टिविहीन छन् । उनको सपना छ, भाइको पनि राम्रोसँग पठनपाठनको व्यवस्था गर्न सकूँ ।
अर्को सपना छ, पढाइ सकेर राम्रोसँग काम गर्न पाउँ । जसले आमाबुवालाई खुशी बनाउन सकियोस् । तैपनि, आमाबुवा सम्झिँदा भने ऐठन हुन्छ । किन ? सौगात भन्छन्, “मलाई जन्मदिने आमाबुवाको अनुहार कस्तो छ ? वहाँहरु कस्ता छन् ? देख्न सकेको छैन ।”
उनका ननिदाएरै देखेका सपना त रंगीन छैनन् नै राति निदाएपछि देख्ने सपना पनि श्वामश्वेत नै छन् । किनकी उनले देख्ने संसार नै श्यामश्वेत छ ।