एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिइन्।
काठमाडौं, माघ २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताएकी छिन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिइन्।
समितिका केही सदस्यले प्रतिवेदन दिन आग्रह गरेपछि मन्त्री शर्माले त्यसबारे निर्णय नभएकाले अहिले प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने बताइन्।
त्यस्तै मन्त्री शर्माले टेरामक्स र एमडीएमएस खरिदका बिषयमा छानविन गर्दै कारवाही गरिने जिकिर गरिन्। संविधान र कानूनभन्दामाथि कोहि नरहेको भन्दै उनले टेरामक्सको छानविनलाई प्रभाव पार्ने काम नगरेको स्पष्ट पारिन्। उनले यससम्बन्धी कागजात छिटै समितिमा उपलव्ध गराउने बताइन्।
बैठकमा समिति सदस्य सुमना श्रेष्ठले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बतान्। उनले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मागेको एक हप्ता बितिसक्दा पनि समितिमा उपलव्ध नगराएको भन्दै आपत्ति जनाइन्।
समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ।












