‘लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’
‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ,’ सभापति देउवाले भने, ‘कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ।’
काठमाडौं, माघ २६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टीको काठमाडौं जिल्ला सम्मेलनमा उनले भाषण सुन्ने मानिसहरु नहुँदा पनि नेताहरुले भाषण गरिरहने प्रवृत्ति राम्रो नभएको बताए। उनले भाषण सुन्ने कोही नहुँदा पनि नेताहरू भाषण गरिरहेको देखिएको बताए।
‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ,’ सभापति देउवाले भने, ‘कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ।’
उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने उनले बताए। कार्यक्रममा अतिथि बनेका अन्य नेताहरु हिँडेपछि देउवाले यस्तो व्यंग्य गरेका हुन्।
उनले काठमाडौं सभापति सबुज बानियाँलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा सबैले चित्त दुखाएको बुझेको भन्दै अर्कोपटक चुनाव जिताएर देखाउन आग्रह गरे ।
‘एउटा कुरा सबैलाई चित्त दुखेछ सबुज बानियाँलाई टिकट दिएन भनेर क्या। यहाँ राष्ट्रिय सभामा। अब टिकट पायो भने जिताउनु होला नि फेरि है,’ उनले भने, ‘अब उहाँले टिकट पाउनुभयो र जिताउनु होला नि फेरि है, राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न। अब जिताउन लाग्नुस् न।’