बेलायतका राज्यमन्त्री सोमबार नेपाल भ्रमणमा आउने
दुई दिनसम्म हुने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । भ्रमणको क्रममा उनले बेलायतद्वारा सञ्चालित विभिन्न परियोजनाको अवलोकन समेत गर्ने बताइएको छ ।
काठमाडौं, माघ २६ : बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एन्ड्रयु मिचेल माघ २९ गतेदेखि नेपाल भ्रमणमा आउने भएका छन् ।
दुई दिनसम्म हुने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । भ्रमणको क्रममा उनले बेलायतद्वारा सञ्चालित विभिन्न परियोजनाको अवलोकन समेत गर्ने बताइएको छ ।
परराष्ट्र मन्त्रालय राज्यमन्त्री मिचेलको भेटघाट लगायतका कार्यक्रमको तयारीमा जुटेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर रायले राज्यमन्त्री मिचेल आउने कुराकानी भइरहेको बताउँदै अहिले सबै कुरा तय भैनसकेको बताए । उनले भने, ‘कति गते आउने कति गते जाने त्यो कुरा पनि अहिले भन्ने अवस्था छैन, तयारी भएपछि मिडियालाई आधिकारिक जानकारी आउँछ ।’
एक साताअघि बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरेर फर्केका छन् । बेलायतका सेनाध्यक्ष स्यान्डर्स ३३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए ।
सो क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षामन्त्री पूर्णबहादुर खडकासहित अन्य उच्चस्तरीय भेटघाट गरेर फर्केका थिए । उनी फर्केको केही समयपछि राज्यमन्त्री मिचेल आउन लागेका हुन् ।