माघ २७ गते नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल

काठमाडाैं, माघ २५ : आगामी माघ २७ गते नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो। नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइसकेको छ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए। खेल तीन बजेदेखि सुरु हुने र त्यसअघि कुटुम्व ब्याण्डको सांगेतिक कार्यक्रमका साथै चिनिया ड्रागन शो लगाएतका कार्यक्रम हुने उनले बताए।
खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको प्रवक्ता शाहले बताए।
मैत्रीपूर्ण खेल आयोजनाले नेपाली युवा फुटबल खेलाडीहरुलाई थप उत्साहका साथ नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने एन्फाको विश्वास छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










