निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत
अनुगमनपछि समिति सभापति प्रकाश पन्थले चैत्र १२ सम्म सम्पन्न गर्ने आयोजनाको डेडलाइनअनुसार सम्पन्न हुने नदेखिएको बताए।
काठमाडाैं, माघ २५ : सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ।निर्माणाधिन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरुको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो।
बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संरचनाको काम सम्पन्न भए पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको भवनमा छाना हाल्ने काम भइरहेको जानकारी दिए।
त्यस्तै भवनको भित्री भागको सजावटलगायतका काम तत्काल सुरु गर्ने तयारीमा रहेको उनले बताए। उनले असार मसान्तसम्म भवनको भित्री भागको काम सम्पन्न गर्न समयदिएकाले आयोजनाले भनेजस्तो चैत्र १२ गतेभित्र निर्माणसम्पन्न हुने नदेखिएको उल्लेख गरे। निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत भएको उनले बताए।
अनुगमनपछि समिति सभापति प्रकाश पन्थले चैत्र १२ सम्म सम्पन्न गर्ने आयोजनाको डेडलाइनअनुसार सम्पन्न हुने नदेखिएको बताए। उहाले संसद भवन निर्माणको काममा बिभिन्न कारणले ढिलाई देखिएकाले समस्यमा समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए। उनले बजेट अधिवेशन नयाँ भवनाबाटै सञ्चालन गर्ने गरि काम गर्न पनि निर्देशन दिने जानकारी दिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गर्नुभएको थियो। तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ। १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ।












