मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिबद्ध : मन्त्री बस्नेत
मन्त्री बस्नेतले मानसिक स्वास्थ्य समस्याका कारण अहिले मृत्युवबरण गर्नेको संख्यामा वृद्धि भइरहेको भन्दै मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
काठमाडाैं, माघ २५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार ललितपुरको लगनखेलमा रहेको मानसिक स्वास्थ्य अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन गर्दै मन्त्री बस्नेतले मानसिक स्वास्थ्य समस्याका कारण अहिले मृत्युवबरण गर्नेको संख्यामा वृद्धि भइरहेको भन्दै मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
उनले समयमा नै मानसिक स्वास्थ्य समस्याको उपचार हुन सके थप समस्या झेल्न नपर्ने जिकिर गरे। मन्त्री बस्नेतले युवाहरुलाई समयमा नै परामर्श दिन सके मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न सकिने धारणा राखे।
उनले स्वदेशमा नै नर्स र डाक्टर पढाउदै दक्ष जनशक्ति उत्पादन गर्न सकिने र बेरोजगारीको संख्या घट्ने उल्लेख गरे। स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न खोज्दा आफ्नो विरोध भएको र राजीनामा माग्ने समेत काम भएको उनले बताए।
मन्त्री बस्नेतले कसैले विरोध गरेकै कारण स्वास्थ्य क्षेत्रको सुधारको काम नरोक्ने स्पष्ट पारे। मानसिक स्वास्थ्य अस्पताल, सिविन नेपाल र फोरट नर्वेको सहकार्यमा किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो।












