भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन
आयोजनाका प्रमुख देवकुमार स्याङ्वोका अनुसार चालु आर्थिक वर्षका लागि स्यालो ट्युबेलको एक हजार वटाभन्दा बढी माग भएको छ। यसमा स्वीकृत कोटा १० वटा मात्रै रहेको उनले जानकारी दिए।
चितवन, माघ २५ : चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ। आयोजनाले चितवनसहित छ जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो।
आयोजनाका प्रमुख देवकुमार स्याङ्वोका अनुसार चालु आर्थिक वर्षका लागि स्यालो ट्युबेलको एक हजार वटाभन्दा बढी माग भएको छ। यसमा स्वीकृत कोटा १० वटा मात्रै रहेको उनले जानकारी दिए। यस्तै डिप ट्युबेल ५० भन्दा बढी माग भएकोमा १३ वटाको मात्रै कार्यक्रम रहेको छ।
‘चालु आवबाट कार्यक्षेत्र थप गरिएको छ। तर बजेट बढ्न नसक्दा मागअनुसारको काम हुन सकेको छैन,’ उनले भने। गत आवमा चितवन र मकवानपुर जिल्ला हेर्दै आएको यस आयोजनाले अहिले नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाही यस वर्षदेखि कार्यक्षेत्र थप गरिएको हो।
स्यालो ट्युबेलका लागि ५० लाख र डिप ट्युबेलका लागि रु १० करोड बजेट रहेको उनले जानकारी दिए। यस वर्ष चितवनमा १० वटा र मकवानपुरमा तीन वटा मात्रै डिप ट्युबेल निर्माण गर्ने योजना रहेको छ।
आयोजनामा डिप ट्युबेलको बोरिङ निर्माण मात्र तीन र पाइपलाइनसहितको सात रहेको उहाँले जानकारी दिनुभयो । स्यालो ट्युबेल चितवनमा निर्माण गरिने उनले बताए।
स्यालो ट्युबेलले चार बिघा र डिप ट्युबेलले ४० बिघा क्षेत्रफल सिँचाइ हुने गरेको छ। गत वर्ष आयोजनामा रु ४० करोड बजेट विनियोजन गरिएको थियो । यसबाट एक सय ६० स्यालो ट्युबेल र ३५ डिप ट्युबेल जडान गरिएको थियो।












