Kathmandu Press

सदन सञ्चालनका लागि कार्यतालिका बनाउनु स्वागतयोग्य : सभापति लामिछाने

'कार्यतालिका कार्यान्वयन हुँदा निर्धारित दिनको जिम्मेवारी सोही दिन पूरा हुनेमा विश्वास लिएको छु', उनले भने। 
सदन सञ्चालनका लागि कार्यतालिका बनाउनु स्वागतयोग्य : सभापति लामिछाने

काठमाडौं, माघ २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सभामुखमार्फत ल्याइएको कार्यतालिकाको स्वागत गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कार्यतालिका कार्यान्वयनमा आफू विश्वस्त रहेको समेत बताए। 

'सदनमा यसपटक कार्यतालिका कार्यान्वयन हुने भएको । यसको कार्यान्वयनले विगतमा कुनै कारणले सदन प्रभावित हुने प्रवृत्तिलाई समेत न्यूनीकरण गर्नेछ । कार्यतालिका कार्यान्वयन हुँदा निर्धारित दिनको जिम्मेवारी सोही दिन पूरा हुनेमा विश्वास लिएको छु', उनले भने। 

Hardik ivf

सभापति लामिछानेले सर्वदलीय बैठक दलीय स्वार्थ र भागबन्डामा केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सर्वदलीय बैठक पार्टीको नेताको घर वा कार्यालयमा नभइ मुसहर बस्तीमा बस्नुपर्ने बताए। 

उनले सर्वदलीय बैठक बसी आर्थिक शिथिलता र युवा पलायन रोक्ने विषय र युवा लक्षित ‘प्रोजेक्ट होप अभियान’का विषयमा छलफल गर्नुपर्नेमा जोड दिए। साथै सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्धता व्यक्त गर्दै विसं २०४८ पछिका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे। 

उहाँले रुग्ण भएका भौतिक आयोजनाको व्यवस्थापन र शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षाको सङ्कट समाधानका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। 'सर्वदलीय बैठकमा सहकारी र लघुवित्त संस्थाको कडा नियमन र पीडितको रकम फिर्ता गर्न सम्पत्ति रोक्का र जफत प्रक्रिया तुरुन्त सुरु विषयमा छलफल गरौं,' उनले भने, 'यो विषयलाई संसदमा ल्याएर छलफल गरौं। यसका लागि कानुनी र प्रशासनिक तदारुकता देखाउनुपर्छ।'

उनले संसदमा सत्तापक्षले बहुमतको बलमा प्रतिपक्षले राख्ने संशोधन फेल गराउने प्रवत्तिमा पनि असन्तुष्टि व्यक्त गरे। 'सांसदहरुले दर्ता गराउने सङ्कल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव कार्यसूचीमै नचढाउने प्रवृत्ति गलत छ,' उनले भने, 'नागरिकसँग प्रत्यक्ष जोडिने यस्ता अनेकौं प्रस्ताव दर्तामै सीमित गराउने प्रवृत्तिको अन्त्य गर्न दल र सरकार सबैको ध्यानार्कषण गराउन चाहन्छु।'

प्रकाशित मिति: १६:२० बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्