४२ करोड भ्रष्टाचार मुद्दामा १७ जनालाई सफाइ
विशेष अदालतका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको मंगलबारको इजलासले उक्त मुद्दाका सबै प्रतिबादीलाई सफाइ दिएको हो।
काठमाडौं, माघ २४ : विशेष अदालतले ४२ करोड रुपैयाँ भ्रष्टाचार मुद्दामा मुछिएका यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयनराज नेपालसहित १७ जनालाई आरोपबाट सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको मंगलबारको इजलासले उक्त मुद्दाका सबै प्रतिबादीलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि राजस्व हिनामिना गरेको अभियोग लगाएको थियो।
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन कार्यालय प्रमुख नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार ६९ रूपैयाँ बिगो, अर्का तत्कालीन कार्यालय प्रमुख तिर्थराज लम्सालविरूद्ध ३ करोड ३० लाख ७९ हजार ३ सय ७३, तत्कालीन
कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध १ करोड ३० लाख ७२ हजार १ सय ५३ रूपैयाँ र तत्कालीन कार्यालय प्रमुख भुपेन्द्र राई ५६ लाख १२ हजार ५ सय ४७ रूपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना दाबी गरिएको थियो। अन्य प्रतिबादीलाई पनि अनियमिततामा फरक फरक विगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको थियो।
१७ जना प्रतिबादीलाई बिगो कायम गरी बिगो अनुसार जरिवाना र जेल सजायको माग थियो। उक्त मुद्दामा सबैले सफाइ पाएका छन्।












