राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
वासिङ्टन, चैत २ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टी भएको छ। कोरोना संक्रमित व्यक्तिहरु भएका केही कार्यक्रममा स....

वासिङ्टन, चैत २ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टी भएको छ। कोरोना संक्रमित व्यक्तिहरु भएका केही कार्यक्रममा सहभागी भएका राष्ट्रपति ट्रम्पमा कोरोनाको संक्रमण नभएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपति ट्रम्प कोरोना सङ्क्रमित व्यक्तिको संलग्न रहेको केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो। खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि उनीमाथि कोरोनाको शंका गरिएको थियो।
राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकारेको र रिपोर्टमा कोरोना सङ्क्रमण नदेखिएको बताए।
संयुक्तराज्य अमेरिकामा कोराना सङ्क्रमणबाट कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपतकाल घोषणा गरेका छन्। देशभरका स्कुल र कलेजहरु बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ।
अमेरिकी शहर न्यूयोर्कमा शनिबार एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। त्यहाको डिपार्टमेन्टल स्टोरमा सामानको अभाव हुनुका साथै शनिबार मानिसहरु सामान खरिद गर्न तँछाडमछाड गरेका दृश्य देखिएको छ।
उपराष्ट्रपति माइक पेन्सले संयुक्तराज्य अमेरिका भ्रमण गर्न चाहनेहरुका लागि थप कडाई गर्नु परेको बताएका छन्। उनले मङ्गलबारदेखि लागू हुने गरी बेलायत र आयरल्यान्डमाथि पनि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए। अब कुनै पनि युरोपेली मुलुकबाट अमेरिका यात्रा गर्न नपाइने भएको छ।
अमेरिकी विमानस्थलमा यात्रुहरुमाथि कडा जाँच गर्नु परेका कारण विमानस्थलहरुमा भिडभाड देखिएको छ। मानिसहरुलाई सम्पूर्ण जाँच प्रक्रिया पूरा गर्न घण्टौ लाइनमा बस्नु परेको छ।












