‘नक्कली नागरिकता, सहकारी ठगी, जग्गा हडप्ने जोकोही कारबाहीको दायरामा आउनुपर्छ’
‘चाहे जग्गा मिच्ने वा हडप्ने होस् चाहे नागरिकता किर्ते गर्ने होस् चाहे सहकारीमा ठग्ने होस् कानुनको दायरामा ल्याइनैपर्छ,’ उनले भने ।
काठमाडौं, माघ २४ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लक्षित गर्दै नक्कली नागरिकता, सहकारी ठगी, सरकारी जग्गा हडप्ने जो कोही भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकको विशेष समयमा थापाले उक्त भनाइ राखेका हुन् । थापाले अघि भने, ‘नेपालको सार्वजनिक जग्गा हड्पछ भने सजाय दण्ड पाउनुपर्दैन ? जतिसुकै शक्तिशाली होस् जुनसुकै पदमा बसेको होस् । तागतवाला होस्, कलम होस् । नागरिकता बनाउन किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ त्यसकारणले किर्ते माफी हुन्छ, चल्छ ?’
थापाले जुनसुकै तागत भएको व्यक्ति भए पनि नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाएर ठगीको मतियार बन्ने व्यक्तिलाई कानुनी कारवाहीको दायरमा ल्याइनुपर्ने बताए। ‘चाहे जग्गा मिच्ने वा हडप्ने होस् चाहे नागरिकता किर्ते गर्ने होस् चाहे सहकारीमा ठग्ने होस् कानुनको दायरामा ल्याइनैपर्छ,’ थापाले भने ।












