कांग्रेस महासमिति बैठकमा २५ सय प्रतिनिधि सहभागी हुने
महासमिति बैठकमा १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्य रहने छन्।
काठमाडौं, माघ २४ : आगामी फागुन ७ देखि १० गतेसम्म चल्ने कांग्रेसको महासमिति बैठकमा मुलुकभरबाट करिव २५ सय प्रतिनिधि सहभागि हुने भएका छन्। पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसको महासमिति बैठक हुन थालेको छ।
महासमिति बैठकमा १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्य रहने छन्। यसअतिरिक्त केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ। कांग्रेस केन्द्रीय समिति एक सय ६८ सदस्यीय छ। यस्तै ३५ मुलुकमा जनसम्पर्क समिति छन्।
जनसम्पर्क समितिबाट करिब एक सय जना महासमिति सदस्य आउने बताइएको छ। क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुनेछन्। भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि करिब सय जनाले महासमितिमा भाग लिने छन्। कांग्रेसको भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन्।
यस बाहेक विधान अनुरुप कांग्रेस सभापतिले बढीमा १५ जना महासमिति प्रतिनिधि मनोनीत गर्ने छन्। २९ जना जिल्ला सभापति र केही सांसद पर्यवेक्षकका रूपमासहभागी हुनेछन्। निर्वाचन क्षेत्रबाट अझै २५ ठाउँबाट महासमिति सदस्य चयन हुन बाँकी छ।
सिन्धुली–२, धादिङ, भोजपुर, सुनसरी–१, महोत्तरी, बारा, पर्सा, सप्तरी–१, काठमाडौँ– ५ र ६, दाङ–३, कञ्चनपुर–१, दोलखा, रामेछाप, पर्वत, कपिलवस्तुमा प्रतिनिधि चयन हुन बाँकी छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासमिति बैठकअघि केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ।












