कोरोना प्रभावः भारतले गर्याे इटाली र इरानबाट आफ्नो नागरिककाे उद्धार
नयाँदिल्ली, चैत २ : भारतीय अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन्।
क....

नयाँदिल्ली, चैत २ : भारतीय अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन्।
कोराेना फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका दुई सय २० जना यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ। उनीहरु आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन्।
भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट दुई सय ११ जना भारतीय विद्यार्थीसमेत दुई सय १८ जनालाई उद्धार गरिएको बताएका छन्। विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताएका छन्।
विश्व स्वास्थ्य संगठनले कोराेना भाइरसलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो।
इरानमा अलपत्र परेका दुई सय ३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन्। दुईवटा एयर इन्डिया उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ।
यसैबीच, कोरोना भाइरसबाट भारतमा सङ्क्रमितको संख्या ९३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा हालसम्म कोरोनाकै कारण दुई जनाको मृत्यु भइसकेको छ । तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीट्जरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन्।
कोरोना सङ्क्रमण रोक्न भारत सरकारले विभिन्न उपायहरु अवलम्बन गरेको छ। धेरैजसो राज्यमा शैक्षिक संस्था र सिनेमा घर मार्च ३१ सम्मको लागि बन्द गरिएका छन्। अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन्। मानिसहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ।












