नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
मंगलबार सुरुङमार्गको स्थलगत अनुगमन गर्दै समितिले सवै समस्या समाधान गर्दै द्रुत गतिमा आयोजना सम्पन्न गर्नुपर्ने भएकाले छिटो भन्दा छिटो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको हो।
काठमाडाैं, माघ २३ : राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ।
मंगलबार सुरुङमार्गको स्थलगत अनुगमन गर्दै समितिले सवै समस्या समाधान गर्दै द्रुत गतिमा आयोजना सम्पन्न गर्नुपर्ने भएकाले छिटो भन्दा छिटो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको हो। समितिका सभापति प्रकाश पन्थले आयोजना निर्माणको काम सन्तोष जनक नै देखिएको बताए।
उनले धादिङ र काठमाडौंका क्षेत्रमा मुआब्जा लगायतका केहि समस्या रहेको भन्दै यसलाई समाधान गर्न सरकारलाई आवश्यक निर्देशन दिने बताए। अहिलेको अवस्थामा काम भए केहि दिनभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने जानकारी पाएको उहाले बताउनुभयो। सभापति पन्थले आयोजना समयमा नै सम्पन्न गर्न सवैले जोडबल गर्नुपर्ने भन्दै एक वर्षभित्रमै सुरुङमार्ग पूर्णरुपमा सम्पन्न हुन सक्ने देखिएको धारणा राखे।
निर्माणाधीन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको समग्र भौतिक प्रगति करिव ६८ प्रतिशत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ। काठमाडौं र धादिङतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटरमध्ये २ हजार ६३६ मिटर सुरुङ खन्ने काम पुरा भएको आयोजनाको भनाइ छ।
हालसम्म मुख्य, सहायक सुरुङ, वोर्किङ अडिट् सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ। सम्झौता अनुसार जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नु पर्ने भएपनि निर्धारित समयमा आयोजना पुरा नहुने भएपछि सरकारले आगामि २५ अप्रिल २०२४ सम्मको लागि समय थप गरेको छ।
२०७६ कात्तिकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्ग शिलान्यास गर्नुभएको थियो। सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण हुन लागेको हो।












