रास्वपाकाे ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित छ : रवि लामिछाने
जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए।
काठमाडाैं, माघ २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन्।
रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानले देशमा कैयौं नेता र दलहरुको जन्म भए पनि आफूहरुको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका हुन्। जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए।
त्यस्तै सभापति लामिछानले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरुलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखे।
उनले आफ्ना बारेमा उठेका विभिन्न प्रश्नहरुको सामना गर्न आफू तयार रहेको र आफूप्रतिको आरोप र लाञ्छनाप्रति आक्रोशित नभएको बरु यसले आफूलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे। राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए।
कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलीप कुमार थापा मगर, पत्रकार शिवकुमार भट्टराई लगाएतलाई सम्मान गरिएको थियो ।












