Kathmandu Press

पर्यटन प्रवर्धन गर्न चितवनमा मिनी म्याराथुन हुने

आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड आयोजना गर्न लागेको हो।
पर्यटन प्रवर्धन गर्न चितवनमा मिनी म्याराथुन हुने

चितवन, माघ २२ : रोटरी क्लब अफ रत्ननगरले स्थनीय समग्र पर्यटन प्रवर्धन गर्न मिनी म्याराथुन आयोजना गर्ने भएको छ। 

आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड आयोजना गर्न लागेको हो। आयोजक संस्थाले सोमबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ। कार्यक्रम संयोजक विपिन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक) हरुले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताए।

उनका अनुसार १५.५ किलोमिटरको प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिता हुने छन्।  १५.५ किमीको खुल्ला प्रतियोगिता नारायणी नदी किनारबाट शुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दुरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जंंगल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ। १५.५ किमीको प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक समेतको सहभागिता रहने उहाँले जानकारी दिए।

प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ। क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाहरुको पहिचान एवं प्रवर्धन गर्ने उद्देश्यबाट समेत यो मिनी म्याराथुन आयोजना गर्न लागिएको हो। रोटरी डिष्ट्रिक ३२९२ जोन ३७ का एसिस्टेण्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५.५ किलोमिटरतर्फको प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, प्रमाणपत्र र चाँदीको मेडल प्रदान गरिने छ।

यसैगरी दोस्रो हुनेलाई ५० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई २५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार, पाँचौं हुनेलाई ५ हजार र छैठौंदेखि १० औंसम्मलाई ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिने छ। दूरी पूरा गर्ने सबै चेपाङ्गलाई रु.२ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ।

 

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्