डिआइजी चन्दको राजीनामा हेडक्वार्टरबाट फिर्ता, १० दिन बिदा दिइयाे
डिआइजी चन्द अहिले बिदामा बसेका छन्। बिदा सकेपछि जिम्मेवारीमा फर्कने बताइएकाे छ।
काठमाडाैं, माघ २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीनामा प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ। चन्दले गत शुक्रबार राजीनामा दिएकाे राजीनामा पत्र सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग पुगेको जनाइएकाे छ। राजीनामा दिएकाे विषय भने भाेलिपल्ट सार्वजनिक भएको थियो ।
यस अन्तरालमा डिआइजी चन्दले आइजिपी वसन्तबहादुर कुँवरसँग भेटेकाे र त्यसक्रममा राजीनामा फिर्ता लिन सुझाइएकाे बताइएकाे छ। कुँवर र चन्द एउटै ब्याचका हुन्। मानवस्रोत विभागका प्रमुख टेकप्रसाद राईलगायत एआइजीहरूले पनि डिआइजी चन्दलाई राजीनामाबारे पुनर्विचार गर्न सुझाएकाे बताइएकाे छ।
२९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै उनलाई निर्णय फिर्ता लिन भनेकाे बताइएकाे छ। त्यसपछि डिआइजी चन्द अहिले बिदामा बसेका छन्। १० दिनकाे बिदा सकेपछि जिम्मेवारीमा फर्कने बताइएकाे छ।
विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी अधिकारीबीच भएकाे कुटाकुटको छानबिन गर्न बनेकाे समितिले प्रहरी अधिकारीलाई कारबाही सिफारिस गरेपछि चन्द असन्तुष्ट थिए। उनले कारबाी गर्ने भए दुवै पक्षलाइ गर्नुपर्ने, प्रहरीकाे मनाेबल गिर्नेगरी कारबाही चलाउन नहुने उनकाेमाग रहेकाे बताइएकाे छ।












