मुगुकाे खत्याडमा आगलागी हुँदा दाजुबहिनीको मृत्यु
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो।
सुर्खेत, माघ २२ : मुगुकाे खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा एउटै घरका दाजुबहिनीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो।
आगलागी भएको र दुई बालबालिका फेला नपरेको सूचना पाइएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र दुईवटा जलेका शरीर पफेला पारेकाे उनले बताए।
डाक्टरलाई बोलाएर शवको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको जनाइएको छ ।प्रहरीका अनुसार लालु सञ्ज्यालको घरमा उनकी पत्नी र दुई छोराछोरी बस्दै आएका थिए। लालु भने कामका लागि भारतमा छन् ।
लालुकी पत्नीले ताप्न बालेको आगो राति निभाउन भुल्दा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको प्रहरीकाे अनुमान छ।
आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको तर यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ।