संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो।
काठमाडाैं, माघ २२ : संघीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो। प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।
सो क्रममा सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको बताए।
उनले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको धारणा राखे। राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।
सभामुख घिमिरेले विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धता जरुरी रहेको बताए। जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने उनको विश्वास छ।












