प्रहरी र पालिकाकाे संयुक्त पहलमा उपत्यकाका ठाउँठाउँमा अत्याधुनिक क्यामेरा
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका विभिन्न स्थानीय तह मिलेर उपत्यकाका ठाउँठाउँमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्यलाई तीव्रता दिएको हो।
काठमाडाैं, माघ २२ : नेपाल प्रहरीले ‘सुरक्षित काठमाडौं उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न प्रविधिमैत्री बनाउँदै लगेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका विभिन्न स्थानीय तह मिलेर उपत्यकाका ठाउँठाउँमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्यलाई तीव्रता दिएको हो। यसका कारण उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रण थप प्रभावकारी हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।
प्रहरीले अटोमेटिक नम्वर प्लेट पहिचान र फेस पहिचान क्यामरा जडान द्रूत गतिमा गरिरहेको उनले बताए। उनले हाल कोटेश्वर, महाराजगंज र बसपार्क क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान भइसकेको जानकारी दिए।
यसैक्रममा आइतबार बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान गरिएको उनले बताए। जडान गरिएका क्यामेराले कैद गर्ने नम्बर प्लेट र फेस प्रहरीको सर्भरमा रहने भएकाले अपराध गरेर भाग्नेहरुलाई नियन्त्रणमा लिन सहज हुने मैनालीले बताए।
उपत्यका विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्य जारी रहेको र यसका कारण अपरान्ध नियन्त्रण र अनुसन्धानमा सहज हुने प्रहरीको विश्वास छ।












