सवारी दुर्घटना र जनधनको क्षति रोक्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव
विभिन्न दलका सांसदहरूले उक्त प्रस्ताव पेस गरेका हुन्। प्रस्तावमा सत्तारुढ र विपक्षीसहित विभिन्न पाँचजना सांसदहरूको हस्ताक्षर छ।
काठमाडौं, माघ २२ : सवारी दुर्घटना र जनधनको क्षतिलाई लिएर राष्ट्रिय सभामा सोमबा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
विभिन्न दलका सांसदहरूले उक्त प्रस्ताव पेश गरेका हुन्। प्रश्तावमा सत्तारुढ र विपक्षीसहित विभिन्न पाँचजना सांसदहरूको हस्ताक्षर छ। प्रस्ताव अनुसार नेपालमा हरेक दिन सवारी दुर्घटना र त्यसबाट भएको जनधनको क्षति बढ्दै गइरहेको जनाइएको छ।
गत वर्ष मात्रै सडक दुर्घटनामा देशभर २८३९ जनाले ज्यान गुमाएका र २८०९ जना गम्भीर घाइते भएको तथ्याङ्क समेत सांसदले पेश गरेका छन्। सांसदहरूले काठमाडौं उपत्यकामा मात्रै दैनिक २९ वटा सवारी दुर्घटना हुने गरेको विवरण पनि प्रश्तुत गरेका छन्।
प्रस्तावमा दिगो विकास लक्षअन्तर्गत सन् २०३० सम्म सडक दर्घटनाका कारण अकाल मृत्यु र घाइतेको संख्यालाई आधामा झार्ने विश्वव्यापी लक्ष्य पूरा गर्नु नेपालको पनि दायित्व रहेको उल्लेख छ। नेपालको संविधानमै मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्यको हक सुनिश्चित गरिएको छ। मौलिक हकको सुनिश्चिता गर्नु राज्यको दायित्व हुने स्मरण समेत गराइएको छ।
प्रस्तावमा उल्लेख छ, ‘सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उद्धार तथा उपचार, अपाङ्गता भएका नागरिकलाई उचित प्रबन्ध तथा मर्यादित श्रमको प्रवद्र्धनका लागि चालक एवम् सहचालकका लागि परामर्श केन्द्र र गुनासो सुन्ने निकायको व्यवस्था जरुरी छ। आमनागरिकबीच सडकको सही प्रयोगबारे चेतना अभिवद्धि लगायतबारे तत्काल कदम चाल्न आवश्यक देखिएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ।’












