धरहरा पार्किङ विवादमा मन्त्रालयलाई बालेनको जवाफ– पत्र महानगरलाई होइन, केपी ओलीलाई लेख्नू
बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि धरहरालाई निर्माणाधीन भन्नु लाजमर्दो भएको भन्दै टिप्पणी गरेका छन्। बालेनले ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नू’ भन्नु लाजको विषय भएको बताएका छन्।
काठमाडौं, माघ २२ : धरहराको अन्डरग्राउन्डमा काठमाडौं महानगरपालिकाले पार्किङको व्यवस्था गरेपछि शहरी विकास मन्त्रालय र महानगरबीच विवाद चर्चिएको छ। मन्त्रालयले आफूसँग समन्वय नै नगरी निशुल्क पार्किङ सुरु गरिएको भन्दै आइतबार महानगरलाई पत्र लेखेको थियो।
मन्त्रलयको पत्रको जवाफ सामाजिक सञ्जालबाट दिँदै बालेनले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन्।
मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएको थियो। तर, बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि धरहरालाई निर्माणाधीन भन्नु लाजमर्दो भएको भन्दै टिप्पणी गरेका छन्। बालेनले ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नू’ भन्नु लाजको विषय भएको बताएका छन्।
‘उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो?’ प्रश्न गर्दै मेयर बालेन्द्रले पार्किङ बन्द गर्न महानगरलाई पत्र लेख्नु भन्दा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेख्नु उपयुक्त हुने बताएका छन्।
उनले तोकिएको समयमा निर्माण भई नसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउनु पर्ने धारणा पनि राखेका छन् । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न उनले आह्वान पनि गरेका छन्।
मेयर शाहले अहिले धेरैको नजर यहाँ धरहराको उक्त पार्किङको ठेक्का लिएर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको बताउँदै महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने बताएका छन्।












