सङ्ग्राहलय बनाउन मगर महोत्सव
पर्वतमा सामाजिक गतिविधिमा सक्रिय मगर समुदायको साझा संस्था पुन युवा क्लबले ४२औँ मगर दिवसका अवसरमा तेस्रोपटक मगर महोत्सव गर्न लागिएको हो।पर्वत, माघ २१ : मगर समुदायको संस्कृति, परम्परा र भेषभुषाको संरक्षणका लागि सङ्ग्राहलय निर्माण गर्ने उद्देश्यले पर्वतमा राष्ट्रिय मगर महोत्सव आयोजना गरिने भएको छ। आगामी फागुन १५ गतेदेखि २६ गतेसम्म मगर महोत्सव आयोजना गरिने भएको हो।
पर्वतमा सामाजिक गतिविधिमा सक्रिय मगर समुदायको साझा संस्था पुन युवा क्लबले ४२औँ मगर दिवसका अवसरमा तेस्रोपटक मगर महोत्सव गर्न लागिएको हो।
‘कला संस्कृतिको संवर्धनमा ऐक्यबद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख दुई हजार दुई सय २२, द्वितीय हुनेले रु एक लाख एक हजार एक सय ११ र तृतीय हुनेले रु ५० हजार एक सय ११ प्राप्त गर्नेछन्।
त्यसैगरी पालिकास्तरीय महिला भविबल, प्रौढ भलिबल, पुख्र्यौली नाच, रत्यौली र लोकभजनलगायतका प्रतियोगिता पनि आयोजना गरिनेछ। महोत्सवमा मगर समुदायको पहिचानका रुपमा रहेका सोरठी, सालैजो, यानिमाया, सुनिमाया लगायतको प्रस्तुति पनि रहनेछ।
महोत्सव आयोजनाका लागि विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ मूल संयोजक कृष्ण पुनले जानकारी दिनुभयो। त्यसैगरी महोत्सवमा विश्वकै दोस्रो अग्लो बञ्जी, जीपलाइन, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकाको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
महोत्सवमा दुई सयभन्दा बढी व्यावसायिक प्रदर्शनी कक्ष रहने मूल संयोजक पुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सबवाट रु ७२ लाख आम्दानी हुने अपेक्षा गरिएको छ भने रु ५३ लाख खर्च हुने अनुमान छ। महोत्सवबाट बचत हुने रकम नुमना मगर सङ्ग्रहालय निर्माणमा खर्च गरिनेछ।
सङ्ग्रहालय निर्माणका लागि शिलान्यासपछि केही काम भए पनि बजेट अभावले काम सम्पन्न हुन नसकेको नेपाल मगर सङ्घका केन्द्रीय सदस्य सोम पुनले जानकारी दिनुभयो। यो क्लबले यसअघि देउसीभैलोमार्फत सङ्कलित रकम एम्बुलेन्स सेवा सञ्चालनका लागि खर्चिएको थियो।