एमाले धादिङको अधिवेशनमा झडप, अधिवेशन अनिश्चितकालका लागि स्थगित
अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले बताएका छन्।
धादिङ, माघ २१ : एमाले धादिङको जिल्ला अधिवेशनमा झडप भएको छ। नवौं जिल्ला अधिशवेशन चलिरहेको अवस्थामा बन्द सत्र सुरु हुनै लाग्दा झडप भएको हो।
अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले बताएका छन्।
झडप भएपछि विज्ञप्ति निकाल्दै ढुंगेलले जिल्ला अधिवेशन अनिश्चितकाल लागि स्थागित गरेका छन्।
ढुंगेलले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको जनाएका छन्।
‘माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्यो। पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारू गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् अशान्त, असहज परिस्थिति देखा पर्यो,’ ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।












