‘दश वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखें’
विसं २०७० मा निर्वाचनको सन्दर्भमा यहाँ आउँदाको तुलनामा अहिले दुधौलीवासीको चेतना तथा जीवनस्तर उकाशिएको आफूले पाएको उनको भनाइ थियो।
सिन्धुली, माघ २० : प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको दुधौली नगरपालिकाले विकास निर्माणमा गति लिएको बताएका छन्।
‘दश वर्षपछि दुधौलीमा विकास निर्माणले गति लिएको प्रत्यक्ष देख्न पाएँ,’ सिर्थौलीमा नवनिर्मित दुधौली नगर अस्पताल उद्घाटन समारोहमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहाले भने।
विसं २०७० मा निर्वाचनको सन्दर्भमा यहाँ आउँदाको तुलनामा अहिले दुधौलीवासीको चेतना तथा जीवनस्तर उकाशिएको आफूले पाएको उनको भनाइ थियो।
१६ करोडको लागतमा निर्माण भएको १५ शय्याको नगर अस्पताल उद्घाटन हुनुले यहाँको विकासमा थप सहयोग पुगेको उनको भनाइ थियो। अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक उपकरण, प्रविधि, दक्ष जनशक्ति र कर्मचारी व्यवस्थापनका लागि काठमाडौँ फर्केपछि पहल गर्ने समेत प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे
यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेकाले सर्पदंश उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो। दुधौलीसहित देशको समग्र विकासका लागि वर्तमान सरकारले नेपाल र नेपालीको पक्षमा काम गरिरहेका भन्दै आश्वस्त पारे।
देशमा रोजगारी सिर्जना गर्न बन्द अवस्थामा रहेका उद्योग पुनःसञ्चालन, नयाँ उद्योग स्थापनाको प्रयास भइरहेको साथै सरकारले कृषि, स्वास्थ्य, सुशासन र शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको प्रधानमन्त्री दाहालले बतए।
पछिल्लो समय अर्थतन्त्रका सूचक उत्साहजनक रहेको उनको भनाइ थियो। उनले भने, ‘रेमिट्यान्स र राजस्व पनि वृद्धि भएको छ। पर्यटकको उत्साहजनक उपस्थितिले अर्थतन्त्र सुधारमा सहयोग पुगेको छ।’












