पुनम पाण्डे जीवितै, क्यान्सरबारे सचेतनाका लागि मृत्युकाे खबर फैलाएकाे दाबी
आफू जीवित रहेको भनेर पोस्ट गरेपछि उनको सो कार्यप्रति निन्दा भइरहेको छ। फ्यानहरूले यसलाई तल्लो स्तरको स्टन्ट भनेर टिप्पणी गरिरहेका छन्। पुनमले चर्चाका लागि यो यस्तो कदम चाल्नु गलत भएकाे भन्दै आलोचना भइरहेकाे छ।काठमाडौं, माघ २० : शुक्रबार भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको मृत्युको खबर एकएक फैलियाे। तर ती मोडल जीवितै रहेको पाइएको छ। शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ खुलाएकी हुन्। सर्भिकल क्यान्सरबारे सचेतना फैलाउन आफूले त्यसो गरेको प्रस्टीकरण उनले दिएकी छन्।
आफ्नो पोस्टले धेरैको चित्त दुःखाएको भन्दै पाण्डेले माफी मागेकी छन्। ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ तर मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई यो गरेकी थिएँ।’
पाण्डे स्वयंको इन्स्टाग्राम एकाउन्टबाट शुक्रबार पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा भाइरल बनेको थियो। ३२ वर्षको उमेरमा पाण्डेका निधन भएको भनेर उनकै म्यानेजरले पनि बताएका थिए। भारतीय मिडियामा समाचार छ्याप्छ्याप्ती भयो। नेपालमा समेत विभिन्न सञ्चार माध्यममा सो खबरले स्थान पायो।
आफ्नो मृत्युको खबर सार्वजनिक भएपछि उनले ‘पाठेघरको मुखको क्यान्सर यस्तो रोग हो, यसले थाहै नपाइ तपाईंको ज्यान लिन्छ र यो रोगबारे धेरै चर्चा हुनु जरुरी छ, जुन मेरो मृत्युको समाचारले गरेको छ’ आफूले जानीजानी मृत्युको खबर सार्वजनिक गरेको उल्लेख गरेकी छन्। शनिबार आफू जीवित रहेको भनेर पोस्ट गरेपछि उनको सो कार्यप्रति निन्दा भइरहेको छ। फ्यानहरूले यसलाई तल्लो स्तरको स्टन्ट भनेर टिप्पणी गरिरहेका छन्। पुनमले चर्चाका लागि यो यस्तो कदम चाल्नु गलत भएकाे भन्दै आलोचना भइरहेकाे छ।
पाण्डेको इन्स्टाग्राममा शुक्रबार सेयर गरिएको पोस्टमा उल्लेख थियो, ‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पुनमलाई गुमाउनुपरेको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ। उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं।’ यो पोष्ट सार्वजनिक भएपछि कलाकार तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए।
शनिबार पोस्ट गरएिको भिडियोमा उनले भनेकी छन, ‘म जीवित छु। सर्भिकल क्यान्सरले गर्दा म मरेको होइन। दुर्भाग्यवश, सर्भिकल क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा म यसो भन्न सक्दिनँ। पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन। यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र एचआइभी खोप लिनुपर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’
सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी पाण्डे पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन्। टिभीतर्फ उनी ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’मा सहभागी भएकी थिइन् ।