‘मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न सकिँदैन’
अभिभावकीय संस्थाका रुपमा रहेको राष्ट्रपति दलका तर्फबाट चयन हुँदा दलीय प्रभाव देखिएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने व्यवस्था सफल हुने जिकिर उनको थियो।
काठमाडौं, माघ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न नसकिने बताएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले सत्तामा टिक्न विदेशीलाई खुसी पार्ने कामले मुलुकमा बाह्य हस्तक्षेप बढेको भन्दै यसलाई रोक्न अव पार्टीले ८४ को निर्वाचन कुर्न नसक्ने बताएका हुन्।
अहिले उत्तर र दक्षिणबाट भइरहेको क्रियाकलापले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्ने खतरा उत्पन्न भएको लिङ्देनले बताए। उनले वैदेशिक हस्तक्षेप रोक्न, सनातन व्यवस्था कायम गर्न अहिले नै शान्तिपूर्ण जनदवाव सिर्जनाका साथै र युवाहरुको हस्तक्षेप जरुरी रहेको बताए।
अभिभावकीय संस्थाका रुपमा रहेको राष्ट्रपति दलका तर्फबाट चयन हुँदा दलीय प्रभाव देखिएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने व्यवस्था सफल हुने जिकिर उनको थियो।
लिङ्देनले नेविसंघ, अखिल जस्ता विद्यार्थी संगठनहरुबाट शैक्षिक गुणस्तर र विद्यार्थीमुखी क्रियाकलाप सम्भव नरहेको भन्दै शैक्षिकमुखी विद्यार्थी संगठनहरुको आवश्यकता देखिएको बताए।












