‘राज्य लुट्न कसैलाई छुट दिन सकिन्न’
कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले त्यस्तालाई जोगाउने काममा नलाग्न आग्रह गरे।
कास्की, माघ १९ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य लुट्ने छुट कसैलाई दिन नसकिने बताएका छन्।
पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले राज्य लुट्ने, अपराध गर्ने र जालसाझी गर्नेलाई छुट दिन नसकिने बताए। कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले त्यस्तालाई जोगाउने काममा नलाग्न आग्रह गरे।
‘उद्योगी व्यावासयी पनि गल्ती गर्छन् र कारबाही गर्न थाल्यो भने दबाब सुरु हुन्छ वक्तव्यबाजी सुरु हुन्छ। उद्योग व्यावसायीलाई त कारबाही गर्नु भएन नी १ हामीले कर तिरेका छौं,’ उनले भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन। कसैलाई पनि जालसाझी गरेर ठग्न छुन दिन सकिँदैन। कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन।’
देश लुट्ने र जालसाझी गरेर ठग्नेलाई छुटाउन दिइने दबाब र हस्तक्षेपले देशलाई बिगोर्ने उनले बताए। गृहमन्त्री श्रेष्ठले हरेक क्षेत्रमा केही काम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए।
‘कुनै अपराधिक काममा, ठगीको काममा, जालसाझीमा कोही राजनीतिक पृष्ठभूमिको मान्छे पक्राउ पर्यो भने पार्टीकै नेताहरु कराउन थाल्छन्। उ त नेता हो । हाम्रो पार्टीको हो । गठबन्धनको हो वा प्रतिपक्षको हो, गर्न पाइँदैन। तर त्यसरी चल्दैन,’ उलने भने।
कुनै पनि हस्तक्षेपबाट नहच्की दृढतापूर्वक त्यस्ता हस्तक्षेपको सामाना गर्ने उनले सुरक्षाकर्मीहरुलाई अपिल गरे।












