प्राथमिकताका कानुनहरू टुंग्याउन सदनमार्फत सरकारलाई दबाब दिने रास्वपाकाे निर्णय
सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानूहरुलाई टुङ्ग्याउन सरकारलाई दवाव दिने निर्णय गरेको हो।
काठमाडाैं, माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राथमिकतामा रहेका कानूनहरुलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दवाव दिने भएको छ।
सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानूहरुलाई टुङ्ग्याउन सरकारलाई दवाव दिने निर्णय गरेको हो। बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा सरकारले आफुलाई काम गर्न आवश्यक कानून ल्याउने तर टुङ्गोमा नपुराउने देखिएकाले अव मुख्य मुख्य कानून टुङ्ग्याउन दवाव दिने बताए।
नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सरकारले आवश्यक विधेयक ल्याउन नसके पार्टीले गैरसरकारी विधेयकहरु ल्याउन तयारी गर्ने उनले बताए। उनले सदनमा जनसवालका बिषयहरुलाई उठाउने र पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिए। त्यस्तै परियारले टिआरसी सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुराउनुपर्नेमा पार्टीको जोड रहेको बताए।
बैठकमा पार्टी सभापति रवि लामिछानले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने विधेयकका बारेमा सांसदहरुसँग जानकारी लिएका थिए।












