‘बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका’

काठमाडौं, माघ १९ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएकी छन्।
नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँ जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई उजागर गर्ने उदेश्यले आज आयोजना गरेको ‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रममा डङ्गोलले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सराहनीय रहेको बताइन्। 'सुरक्षाका दृष्टिकोणमा प्रहरीको भूमिकालाई बालबालिकाले कसरी हेरिरहेका छन् भन्ने विषयलाई यस्ता कार्यक्रमले प्रष्ट पार्ने गर्दछन्', उनले भनिन्।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले समाजसेवा तथा शिक्षालाई जोडेर श्रीमती सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। उनले प्रहरीमा आमजनताको आकर्षण कसरी बढाउने भन्नेबारे वतृत्वकलामा छलफल हुने विश्वास व्यक्त गरे। श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक क्षेत्रमा क्रियाशील सङ्घले पहिलोपटक वतृत्वकला गरेको भन्दै खुसी व्यक्त गरिन्।
उक्त वतृत्वकलामा काठमाडौँभित्रका सामुदायिक विद्यालय र नेपाल प्रहरी विद्यालयमा अध्ययनरत २६ जना छात्रछात्राले भाग लिएका छन्। वतृत्वकलामा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगदसहित सम्मान गरिने श्रीमती सङ्घले जनाएको छ।












