बाँसबारीकाे सरकारी जग्गा हडप्न च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेकाे देखियाे : सिआइबी
जग्गा प्रकरणका विषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कानुनविपरीत आफूलाई फाइदा लिन तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापाले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको जनाएको हो।
काठमाडाैं, माघ १९ : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्न च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको छ।
जग्गा प्रकरणका विषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कानुनविपरीत आफूलाई फाइदा लिन तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापाले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको जनाएको हो।
सो कम्पनीको जारी पूजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरि क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेष्ता कायम रहेको १८ रोपनी जग्गा मध्येबाट १० रोपनी जग्गाको हक समेत हस्तान्तरण गरेको सीआईबीले जनाएको छ। सम्झौता बमोजिम रु १२ लाख पचास हजार लगानी गर्नुपर्नेमा कारखानाको तर्फबाट रु २६ लाख बराबरको लगानी गरि सरकारलाई हानी नोक्सानी पुराई आर्थिक लाभ लिएको देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए।
२०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको उनले जानकारी दिए। प्राइभेट कम्पनीमा रुपान्तरण भएपछि सरकारी जग्गा व्यक्तिको नाममा रुपान्तरण भएको र कम्पनीको नाम समेत परिवर्तन गरि सिजी चाँदबाग रेसिडेन्सी बनाइएको आचार्यले बताए।
हाल उक्त जग्गा चाँदबाग स्कुलकै नाममा रहेको सीआईबीले जनाएको छ। उक्तजग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र संजय ठाकुर पक्राउ परेका छन्। पक्राउ परेका तीनैजनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।