शुक्रकिट यात्राः डिम्बसम्म नपुग्ने शुक्रकिटहरू कहाँ जान्छन् ?
तपाईंलाई थाहै होला – लाखौं शुक्रकिटमध्ये एउटाको मात्रै अण्डसँग मिलन हुन्छ र गर्भधारण हुन्छ ।
तर, के तपाईंलाई थाहा छ – बाँकी शुक्रकिटहरू कहा....
तपाईंलाई थाहै होला – लाखौं शुक्रकिटमध्ये एउटाको मात्रै अण्डसँग मिलन हुन्छ र गर्भधारण हुन्छ ।
तर, के तपाईंलाई थाहा छ – बाँकी शुक्रकिटहरू कहाँ जान्छन् ?
वैज्ञानिकहरू भन्छन् – पुरुषको वीर्यमा हुने शुक्रकिटहरू जुन द्वार र बाटो हुँदै महिलाको अण्डसँग मिल्न जान्छन्, त्यो ‘ट्रयाक्ट’ विशेष किसिमले बनेको हुन्छ । कमजोर शुक्रकिटहरू यही ट्रयाक्टमा रोकिन्छन्, अगाडि जानै सक्दैनन् ।
सानो आकारको नमूना र कम्प्युटर सिमुलेसन प्रयोग गरेर अनुसन्धाताहरूले शुक्रकिटको बाटोमा आउने साँघुरा ‘स्ट्रिक्चर्स’को अध्ययन गरेका छन् । त्यसलाई पार गर्ने शुक्रकिट मात्रै गर्भाशयबाट अण्डसम्म पुग्ने उनीहरूले पत्ता लगाएका छन् ।
पुरूष र साँढेहरूमा गरिएको परीक्षणले बलिया पौडीबाज मात्रै ‘स्ट्रिक्चर्स’बाट छिर्ने गरेको देखाएको छ । त्यहाँ बग्ने तरल पदार्थको धारले कमजोर शुक्रकिटलाई पछि धकेल्छन् । झरना वा उकालो पानीमा ‘साल्मन’ को संघर्ष देख्नुभएको छ ? शुक्रकिटको यात्रा र संघर्ष ठ्याक्कै त्यस्तै हो ।
‘यी स्ट्रिक्चरले सुस्त शुक्रकिटहरूलाई रोक्ने र गतिशिलता उच्च भएकालाई छान्ने गर्दछ,’ रसायनविद् अलिरेजा अब्बास्पोरादले भने । न्यूयोर्कस्थित कोर्नेल युनिभर्सिटीले गरेको यस अध्ययनका उनी मुख्य लेखक हुन् ।
मानव र अन्य स्तनधारीमा ६ करोडभन्दा धेरै शुक्रकिटहरू एकै पटक दौडमा सहभागी हुन्छन् । अण्डसम्म पुग्ने र निषेचन गर्ने प्रत्येकको लक्ष्य हुन्छ । तर दौड जित्नलाई कुनै एउटा शुक्रकिटले सबै प्रतिस्पर्धीलाई उछिन्नुपर्छ । एसिड स्नान र शरीरको रोग प्रतिरोधी क्षमताको आक्रमणको जोखिम मोल्नुपर्छ ।
शुक्रकिटको पौडने क्षमता यसअघि पनि अध्ययन गरिएका छन् । कोर्नेलका वैज्ञानिकहरूले महिलाको प्रजनन द्वारमा भएको, गर्भाशयदेखि फेलोपियन ट्युबसम्म पुग्ने सानो द्वारजस्तो, साँघुरो भागमा शुक्रकिटले कस्तो व्यवहार देखाउँछन् भनेर अध्ययन गरेका छन् । यस्ता बाधाहरूले विशेष चुनौती खडा गर्छन् । शुक्रकिटले उकालो पौडिनुपर्ने हुन्छ । पौडिने क्रममा आफूतिर बग्ने तरल पदार्थसँग पनि पौठेजोरी खेल्नुपर्छ ।
‘स्तनधारीहरूको प्रजनन प्रणालीको शरीर (रचना) विज्ञानलाई हेर्दा, अण्डसम्म पुग्ने मार्गको आयाम स्थिर देखिदैन,’ अब्बास्पोरादले भने ।
‘त्यहाँ अत्यन्तै साँघुरा स्थान पनि हुन्छन् जहाँबाट केही शुक्रकिटले मात्रै प्रवेश पाउँछन् ।’
स्ट्रिक्चरमा शुक्रकिटको व्यवहार हेर्नलाई अब्बास्पोराद र सहकर्मीहरूले शुक्रकिटले पार गर्नुपर्ने त्यस्ता साँघुरा स्थानको नक्कल गर्दै एउटा सानो ‘माइक्रोफ्लुइडिक’ उपकरण बनाए । उपकरणमा आँखा आकारका तीनोटा साना कोठाहरू छन् । प्रत्येकलाई एउटा ‘पिञ्च पोइन्ट’ ले छुट्याएको छ । प्रजनन द्वारमा जस्तै ओरालो बग्ने तरल पदार्थ, स्ट्रिक्चर र उकालो पौडने शुक्रकिटको प्रबन्ध मिलाइएको छ ।
साइन्स एड्भान्सेस नामक जर्नलमा केही शुक्रकिट छिटो पौडिएर ‘पिञ्च पोइन्ट’ बाट बचेको तर अधिकांशलाई माथिबाट आउने तरल पदार्थको लहरले रोकेको उल्लेख छ । परीक्षणको भिडियोले, शुक्रकिट स्ट्रिक्चरसम्म उकालो पौडिएको, त्यहाँ भएको तरल पदार्थबाट पछाडि धकेलिएको र फेरि उकालो जाने प्रयास गरेको देखाउँछ ।
मानव र साँढेको शुक्रकिट दुवैले स्ट्रिक्चरको प्रवेशद्वारमा अड्किँदा एउटै व्यवहार देखाए । उनीहरू अंग्रेजी ‘आठ’ को आकारमा तेर्सिए वा पुतली आकारमा अघि बढे । एउटा कोठाको मुख खोलेर अघि बढ्दै जाँदा फेरि पछाडि धकेलिए । फेरि अघि बढे, फेरि धकेलिए ।
‘शुक्रकिटलाई पुतली आकारमा पौडिएको देख्नु आश्चर्यजनक थियो,’ अब्बास्पोरादले भने ।
‘बाटोको आकारले शुक्रकिटहरू भेला पार्दछ । तीव्र गतिमा दौडिने शुक्रकिटहरू स्ट्रिक्चर र एकअर्काको नजिकै जम्मा हुन्छन् भने सुस्तलाई बहावले फेरि पछाडि बगाउँछ र टाढा–टाढा पुर्याउँछ ।” अन्ततः उत्कृष्ट पौडिबाजले मात्रै त्यहाँबाट प्रवेश पाउँछ ।
एउटा परीक्षणमा, ८४.२ मिमि प्रति सेकेन्डको गतिमा पौडिने एउटा शुक्रकिट कुनै एउटा ‘पिञ्च पोइन्ट’ बाट संघर्ष गर्दै अगाडि बढ्छ । उसका प्रतिस्पर्धीहरू धारहरूमा फस्छन् । अघि बढ्ने प्रत्येक प्रयासमा फेरि पछाडि धकेलिन्छन् । सबैभन्दा कमजोर शुक्रकिट सबैभन्दा टाढा धकेलिन्छन् । भावी प्रयासहरूमा बलियाहरूले सफलता पाउने बढी सम्भावना हुन्छ ।
‘नतिजाले सबैभन्दा तीव्र र त्यसैले सबैभन्दा उत्कृष्ट अनुमान गरिएको शुक्रकिटले मात्रै तरल पदार्थ छिचोल्दै यी साँघुरा स्थान पार गर्ने देखाउँछ,’ युनिभर्सिटी अफ शेफिल्डमा एन्ड्रोलोजीका प्राध्यापक एलन पासीले बताए ।्
दि गार्डियन