तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न समिति गठन
समितिले पीपीपी मोडेलमा विमानस्थल सञ्चालनबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।
काठमाडौं, माघ १८ : काठमाडौं। सरकारले काठमाडौं, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्ने तयारीका लागि समिति गठन भएको छ।
पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानीविज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव, सदस्यसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य रहने गरी पाँच सदस्य समिति गठन गरिएको हो। उक्त समितिले पीपीपी मोडेलमा विमानस्थल सञ्चालनबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।
नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट तीनवटा विमानस्थलको सञ्चालनका लागि निजी क्षेत्रलाई दिने अवधारणा बनाएर प्रस्ताव पेस गरिएको थियो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कम्पनीलाई नै यी तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी दिन लागिएको जनाइएको छ।












