ढोरपाटनमा हिमपात
बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिए।
ढोरपाटन (बागलुङ), माघ १८ : बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ। बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो।
हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ। बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिए। बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो।
बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिए। हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताए।
उनले भने, 'हिजोदेखि मौसम निकै चिसो थियो, पानी पनि पर्न सकेको थिएन, घाम पनि लागेको थिएन, राति अलिअलि पानी पर्यो र एकै छिनमा हिउँ पर्यो, अहिले निकै चिसो छ, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न सकिँदैन, अब घाम लाग्यो भने मात्रै घर र गोठको काम गर्न सकिन्छ।'
गत मङ्सिर १८ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको थियो। त्यसयता सामान्य वर्षासमेत हुन सकेको थिएन। लामो समयदेखि वर्ष नहुँदा किसानले लगाएका गहुँ, जौँ बारीमै मर्न थालेका थिए। यो वर्षाले किसानका लागि राहत मिलेको स्थानीय प्रेमबहादुर घर्ती मगरले बताए। यो सिजनमा किसानलाई वर्षाको निकै आवश्यकता रहेको उनको भनाइ छ।












-(86)-1764936079.jpg)